काठमाडौं — जनता समाजवादी पार्टीमा आन्तरिक द्वन्द्व बढ्दै गएको छ । सत्ता साझेदारीका बिषयमा पार्टीका नेताहरुबीच मतभेद देखिएको र यस जनता समाजवादी पार्टीमा लामो समयदेखि आन्तरिक बैठक समेत प्रभावित हुँदै आएको छ । जनता समाजवादी पार्टीका नेताहरु एकीकरण अघिकै दलमा विभाजित रहेर आन्तरिक छलफल गरिरहेका छन् ।
पछिल्लो समय यस केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन भने राजनीतिक स्वार्थका आधारमा विभाजित हुँदै साविकको समाजवादी पार्टी र राजपा नेपालका नेताहरु छुट्टाछुट्टै छलफल र बैठकमा जुटिरहेका छन् ।
जनता समाजवादी पार्टी नेपालले चैत ५ गतेका लागि कार्यकारिणी समितिको बैठक आह्वान गरेको थियो । तर अन्तिम समयमा आएर उक्त बैठक स्थगित गरिएको थियो । त्यही दिन बिहान बसेको पदाधिकारी बैठकमा सत्ता साझेदारीका विषयमा विवाद बढेपछि कार्यकारिणी समितिको बैठक स्थगित गरिएको हो ।
पछिल्लो समय जसपाभित्र सत्ता साझेदारीका लागि एमालेलाई रोज्ने वा कांग्रेस–माओवादी केन्द्रलाई भन्नेबारे मतभेद भएको छ । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु एमालेसँग सहकार्य गर्नका लागि इच्छुक देखिएका छन् भने उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु कांग्रेस–माओवादीसँग सहकार्य गर्नुपर्ने पक्षमा रहेका छन् ।
सोही मतभेदका बीच जसपा नेपाल आज दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आयोजना गर्ने तीन दलीय बैठकमा सामेल हुँदैछ । तर उक्त बैठकमा पार्टीका तर्फबाट कस्तो अडान राख्ने वा के–कस्ता प्रस्ताव गर्ने भन्नेबारे जसपा नेपालले आन्तरिक छलफलसमेत गरेको छैन ।
पार्टी निकट स्रोतका अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर रहेका कारण जसपा नेपालको बैठक बस्न नसकेको हो । पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादव भन्छन्, ‘पार्टीका शीर्ष नेताहरु काठमाडौं बाहिर रहेको कारण बैठक बस्न नसकेको हो । नेताहरु काठमाडौं फर्किदै हुनुहुन्छ, त्यसपछि सल्लाह गरेर बैठक बस्नेछ ।’
धनुषामा पार्टीको प्रशिक्षण कार्यक्रम चलेको र त्यसमा केही नेताहरु व्यस्त भएका कारण पार्टीको कार्यकारिणी समितिको बैठकमा केही विलम्ब भएको उनले बताएका छन् ।
सोही पार्टीका अर्का नेता डा.सुरेन्द्र झा पार्टीको बैठक बस्न आवश्यक देखिएको तर नेताहरु बाहिर रहेका कारणले गर्दा बैठक बस्न ढिलो भएको बताएका छन् । पार्टीको समायोजनका काम पनि ठप्प रहेको भन्दै उनले त्यसका लागि बैठक बस्न आवश्यक रहेको समेत बताएका छन् ।