काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने भएको छ ।
कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर बढेसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ । त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौंमा तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज समेत प्रभावित हुनसक्ने भएको छ ।