काठमाडौं — नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको जानकारी दिनुभएको छ । स्वर्गीय जोशीको १३औं पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो “छोटो समयमा नै धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो, केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,” । आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको उहाँको भनाइ थियो । कांग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको सभापति देउवाले बताउनुभयो । लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँको भनाइ थियो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताउनुभयो । “लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्कीनेछ”, उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले स्व जोशीले वि.सं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रुपमा र त्यसपछि कांग्रेसमा बसेर लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको बताउनुभयो ।
पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो । बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताउनुभयो । नेपालमा लोकतन्त्र साकार गरेमात्र स्वर्गीय जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँको भनाइ थियो ।
कांग्रेस ललितपुरका सभापति मदन अमात्यले जोशीको निधनले सिङ्गो उपत्यकावासी शोकमा डुबेको समेत बताउनुभयो । परिवारको तर्फबाट बोल्दै स्वर्गीय जोशीका दाजु एवं कांग्रेस नेता राजुराज जोशीले आफूहरु दाजुभाइ भए पनि साथीभाइ जस्तो भएर काम गरेको समेत बताउनुभयो । स्व नेताप्रति पार्टीले उच्च मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ रहेको थियो । जोशीको निधनमा आज देशभरका ७७ वटै जिल्लामा शोकसभा भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।