काठमाडौं — प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति केपी ओलीमा रहेको नेकपा एमालेका नेता माधव नेपालले आरोप लगाउनु भएको छ । ‘२०७२ सालमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभयो । प्रचण्डको पालो आएपछि छाड्दिनँ भन्नुभयो ।
सहमतिका लागि मलाई मध्यस्थता गर्न बोलाइएको थियो’ आज आफू निकट काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, ‘मैले पद छाड्नुस् प्रधानमन्त्री प्रचण्डलाई दिनुस्, त्यसो गर्दा हाम्रो पार्टी पनि सरकारमै रहन्छ भनेको थिए, सुरुमा हुन्छ भन्नुभयो । तर पछि फेरि बोली फेर्नुभयो । त्यसपछि कांग्रेस र माओवादी मिले, एमाले सरकारबाटै बाहिरियो ।’
यसपटक पनि आफू संकटमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नै विघटन गरेको नेता नेपालले बताउनुभयो । नेपालले ओलीसामू नझुक्ने पनि स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो । ‘मानिसहरु भन्छन्, एउटा ओलीसामू झुक्ने, अर्को गेरुवस्त्र लगाउने पनि विकल्प छ । तर हामी त्यता जाँदैनौं । दृढताका साथ छाति खोलेर लड्छौँ । जितेर छाड्छौँ । कम्युनिस्ट आन्दोलनको रक्षा गर्छौं’, ।