काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि झापा जान लाग्नुभएको छ । भोलि विहानको हवाई उडानमार्फत् सभापति देउवा झापा जाने देउवाको सचिवालयले जानकारी दिएको छ ।
प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता स्वर्गीय सिके प्रसाईकी धर्म पत्नी गिरीराजकुमारी प्रसाई (ज्ञानु मुवा)को श्रद्धाञ्जलीसभा र कांग्रेस नेता एम आचार्यको सालिक अनावरण कार्यक्रमका लागि सभापति देउवा झापा जान लाग्नु भएको हो ।
देउवासँगै नेताहरु ज्ञानेन्द्र कार्की, कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरु पनि झापाको कार्यक्रममा सहभागी हुने बुझिएको छ । सिटौला आजै झापा प्रस्थान गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका सभापति देउवा प्रदेश एकका पार्टीका शीर्षस्थ नेतासहित २ दिन बिताउने भएका छन् ।
चैत ११ गते ९० वर्षको उमेरमा गिरीराजकुमारी प्रसाईको मृत्यु भएको थियो । उनी राजनीतिसँगै सामाजिक रूपान्तरणमा पनि सक्रिय रहेकी थिइन् । २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक क्षेत्र नं २ मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग १७ मतले गिरीराजकुमारी पराजित भएकी थिइन् । त्यतिबेला ४२ मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भन्दै बदर गरिएको थियो ।
चुनावमा ओलीले धाँधली गरेर जितेको भन्दै प्रसाईले पुनः मतगणनाका लागि मुद्दा दायर समेत गरेकी थिइन् । तर मुद्दाको सुनुवाइ नै नभइ ढिसमिस भएको थियो ।