प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताएका छन् । शनिबार बालुवाटारमा आयोजित रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले चुनाव नभै देश अघि बढ्नै नसक्ने जिकिर गर्दै ढिलोचाँडो निर्वाचन भइ छाड्ने बताएका छन् ।

‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गदैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको कुरा हो’, उनले भने, ‘देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने ?’ यो कुरा जनताले फैसला गर्ने विषय भएकाले जनतामा जानै पर्ने उनको भनाइ छ ।

‘हामीले गरेको विघटन त्यही अर्थमा हो । कसैको स्वार्थमा ठेस लागोस्– नलागोस्, राष्ट्रिय आवश्यकतासँग तादम्यता राखेन, राख्न कोशिस गर्दा भएन’, उनले भने, ‘मेरो विचारमा ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितबिना देश अगाडि स्मुथली जानै सक्दैन ।’ उनले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप पनि लगाए ।
आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफबाह फैलाउने गरेको पनि उनको दावी छ । आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्कवितरर्क गरेर सरकारको विरोध गर्न खर्चिएको उनको भनाइ छ । उनले विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरेका छन् ।