काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक चरम फाँसीवादी निरंकुशतातिर जाने खतरामा रहेको बताउनु भएको छ । आज प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले गरेको बलिदानलाई उल्ट्याउँदै नेपाली समाजलाई जर्बजस्त पछाडी धकेल्ने उद्देश्यअनुरुप राज्य नै फाँसीवादी बाटोमा लागेको जानकारी दिनुभएको छ ।
अध्यक्ष प्रचण्डको भनाइ छ, ‘मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजेको छ, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलव्धी उल्ट्याउन खोजिएको छ,’ । उहाँले अहिले सरकारबाटै सुरु भएको प्रतिगमनतिरको यात्रा रोक्नु नै अहिलेको प्रमुख चुनौति रहेको समेत बताउनु भएको छ ।
‘फुटाउ र राज गर भन्ने सामन्ती संस्कारका विरुद्ध धेरै लामो संघर्ष गर्यौँ, त्यसैको उपलबिधका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा छौ तर, अहिले त्यसैमाथि प्रहार गर्ने षड्यन्त्र भैरहेको छ’, पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले भन्नुभयो, ‘त्यो षडयन्त्रको व्याख्या गर्नको लागि अहिले मलाई समय छैन तर षड्यन्त्र भएको छ ।’
उहाँले लोकतन्त्रका मूल्यमान्यता र आन्दोलनका उपलव्धीहरु, शहीदहरुले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतन्त्रतिर लैजाने प्रयास भएको समेत बताउनु भएको छ । ‘समाज जहाँ हामी अहिले त्यहाँ आइपुगेका छौँ अव यो जाने भनेको निरंकुशतन्त्रको फाँसीवादतिर हो । चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा छ’, प्रचण्डले वर्तमान सरकारको कार्यशैलीतर्फ संकेत गर्दै भन्नुभयो । उहाँले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर त्यो संकेत देखिएको भन्दै आन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापना भएपनि प्रतिगमनकारी षडयन्त्रको अन्त्य अझै भैनसकेको बताउनुभयो ।
प्रचण्डले नियम, मुल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्वनाको समाना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा माणिकलाल श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको पनि बताउनुभयो । उहाँले प्रतिगमनकाविरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने समेत बताउनु भएको छ ।