काठमाडौं – सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीहरुलाई जनही ४÷४ लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले ५ हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुग्नुभएको थियो । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।