काठमाडौं — नेकपा एमालेको खनाल–नेपाल पक्षको स्थायी समिति सदस्यहरुको बैठक सुरु भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा आज बिहान ११ बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलागरी सुरु भएको छ ।
बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु वेदुराम भुसाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत सहभागी भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित अन्य ४ जनालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने विषयमा छलफल केन्द्रीत हुने नेताहरुले जानकारी दिएका छन् ।
आजको बैठकले खनाल–नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने भएको छ । बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने समेत बताइएको छ । सो समुहका एक नेताले गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना रहेको समेत बताएका छन् ।