काठमाडौं — काठमाडौं लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुले वातावरण तथा स्वस्थ्य सङ्कटकालको माग गर्दै आज प्रदर्शन गरेका छन् । देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य सङ्कटमा परेको समयमा सरकार बसेको भन्दै उनीहरुले सिंहदरबार अगाडि आज प्रदर्शन गरेका हुन् ।
प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दै ९÷१० जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा राखिएको प्रहरीले जानकारी दिएको छ । देशका विभिन्न ठाउँहरुमा लागेको डढेलोका कारण प्रदूषणले देशभरको वायुको गुणस्तरमा ह्रास भएको छ । केही दिनअघि काठमाडौं वायु प्रदूषणको मामिलामा विश्वकै सबैभन्दा प्रदूषित शहरसमेत बनेको थियो । विज्ञहरुले काठमाडौंको वायु जनस्वास्थ्यका लागि घातक बनेको समेत बताएका छन् ।