काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा उक्त बैठक बस्न लागेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने एजेण्डा रहेको छ । छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने उहाँले जानकारी दिनुभएको छ ।
बैठकको ठोस एजेण्डा नभएकाले समसामयिक राजनीतिक विषयका बारेमा पनि छलफल हुने कांग्रेस महामन्त्री खड्काले जानकारी दिनुभएको छ । संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे कांग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।
संसद पुनःस्थापनापछिको राष्ट्रिय राजनीतिबारे नेताहरुले बैठक माग गर्दै आए पनि बैठक बस्न भने सकेको थिएन । कांग्रेसमा वैकल्पिक सरकार निर्माणका विषयमा संस्थागत निर्णय लिन दबाब आइरहेको छ ।
पार्टीको संस्थापन इत्तर पक्ष वर्तमान केपी शर्मा ओली सरकारको विकल्पमा नयाँ सरकार गठनका लागि बैठकले अन्य दलहरुलाई पनि आह्वान गर्नुपर्ने पक्षमा रहेको छ । तर सभापति शेरबहादुर देउवा भने माओवादी केन्द्र र जनता समाजवादी पार्टीको निर्णय कुर्नुपर्ने पक्षमा रहेको देखिएको छ ।
केपी शर्मा ओलीको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका र जसपाको एउटा पक्ष ओलीसँग छलफलमा रहेकाले नयाँ सरकार निर्माणका लागि परिपक्व परिस्थिति बनिनसकेको देउवाको बुझाइ छ । तर इत्तर पक्ष भने कांग्रेसले संस्थागत निर्णय लिएर जाँदा उनीहरुमाथि पनि दबाब सिर्जना हुने भन्दै बैठकबाट निर्णय लिनुपर्ने पक्षमा रहेको छ ।