काठमाडौं — नयाँ नयाँ प्रविधिको विकाससँगै मनकामना केबलकारलाई पनि नयाँ प्रविधियुक्त बनाउन लागिएको कम्पनीले जानकारी दिएको छ । २०५५ सालबाट संचालनमा आएको यस केबुलकार अब डिजिटल प्रविधिमा रुपान्तरण हुने र यसका लागि कम्तीमा पनि २ वर्षको अवधि लाग्ने कम्पनीले जानकारी दिएको छ । यो अवधिमा बेलाबखत केबलकारको सेवामा अवरुद्ध हुन सक्ने भन्दै कम्पनीले यात्रु तथा भक्तजनहरूलाई पहिले नै जानकारी गराएको छ ।
यस केबलकारको स्तरोन्नतीका लागि कम्पनीले पहिलो चरणमा पार्टपुर्जा फेर्ने र दोस्रो चरणमा नयाँ पूर्वाधारको निर्माण गरिने बताएको छ । यसैगरी, तेस्रो चरणमा एनालग प्रविधिमा संचालन भएको यस केबुलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने, मुख्य लठ्ठा (केबल)लाई फेरबदल गर्ने, कम्युनिकेट केबललाई सेट्रा केबलमा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुमान्तरण गरी हाल विश्वभर संचालनमा आएको प्रविधियुक्त बनाउने कम्पनीले जानकारी दिएको छ ।