काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाई हुने भएको छ ।
प्रधानन्यायाधीश सहित उक्त बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना पनि बसेका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिनुभएको थियो ।
एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्चले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रले टिप्पणी गरेको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता समेत दिएको थियो ।
तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा पुग्नु भएको थिए ।