काठमाडौं – एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू लोकतन्त्रको मूल्य मान्यताका लागि कटिबद्ध रहेको बताउनु भएको छ । उहाँले जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागिपर्ने समेत जानकारी दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रको समस्या भएको भन्दै नेपालले आफू समाधान भएकाले ओली एण्ड कम्पनीले आफूलाई गरेको कारबाहीको अर्थ नभएको प्रतिक्रिया समेत दिनुभएको छ । युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले भन्नुभयो, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’
उहाँले केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने भन्दै आफूहरुले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेता पनि मान्नको लागि आफु बाध्य भएको समेत बताउनु भएको छ । २०७५ जेठ भन्दा पहिलेको बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ सुध्रिनु्हन्छ भने लाग्दैन । तर आशाको सानो त्यान्द्रो भने अझै बाँकी नै छ ।’
नेपालले संगठन बनिसकेपछि सडकमा बसिरहने कुरा नआउने भन्दै देशभरीका कार्यकर्ताले के भन्छन् त्यही आधारमा अघि बढिने पनि उहाँले बताउनु भएको छ । उहाँले केपी ओलीले आफूलाई निकाल्ने हैसियत नराख्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कारबाही अर्थहीन छ, भनेर हामीले भनिसकेका छौं । हामी त्यसलाई महत्व पनि दिँदैनौँ’ ‘पार्टीमा उहाँले मलाई सदस्यता दिएको पनि होइन । नेकपा एमाले बनाउन उनको भूमिका छैन । मलाई केपी ओलीले निकाल्ने ? त्यो कसैले सोच्न सक्छ ?’
त्यसअघि युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले कम्युनिस्ट आन्दोलन धरासायी पार्न खोज्नेहरूले अध्ययनमा जोड नदिएको समेत बताउनुभयो । उहाँले विद्यार्थी तथा युवाले पढाइसँगै आन्दोलनलाई गति दिनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘विद्यार्थीले पढ्नैपर्छ, कम्युनिस्ट आन्दोलन धरासायी पार्न खोज्नेहरूले विद्यार्थीले पढ्ने होर भन्छन् । तर म भन्छु, पढाइ सँगसँगै आन्दोलनलाई गति प्रदान गरिनुपर्छ । अध्ययन गर्ने काम युवाहरुको हो, विद्यार्थीको हो । ज्ञान एकचोटी हासिल गरेर सकिँदैन । ज्ञान निरन्तर लिनुपर्छ । ज्ञानले चेतनाले शक्ति प्रदान गर्दछ ।’ उहाँले आन्दोलनलाई जोगाउने काम युवा विद्यार्थीको काँधमा आएको समेत जानकारी गराउनु भएको छ ।