काठमाडौं – काठमाडौं उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापन सहज भएको हो ।
विसं २०६३ मा बन्द रहेको ट्राफिक बत्ती ११ वर्षपछि २०७४ सालबाट सञ्चालनमा आएको थियो । उक्त वर्षको चैत १३ गते नयाँ बानेश्वर चोक र महाराजगञ्ज चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यस्तै २०७१ सालमा काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनमा ट्राफिक बत्ती जडान भए पनि सोही बत्ती राम्रोसँग सञ्चालन हुन सकेको थिएन ।
काठमाडौं उपत्यकामा जडान भएका ट्राफिक बत्तीमध्ये २० सडक विभाग, चार ललितपुर महानगरपालिका, दुई काठमाडौं महानगरपालिका, दुई माछापुच्छ«े बैंक, एक सनराइज, एक प्राइम र एउटा त्रिपुरेश्वर रोटरी क्लबको सहकार्यमा जडान गरिएको हो जसमध्ये अल्का अस्पताल अगाडि, महापाल चोक, हरिहरभवन र पुल्चोक ललितपुर महानगरपालिका, ल्होत्से चोक र भाटभटेनी चोकको काठमाडौं महानगरपालिका, लैनचौर र एकेडेमी मोडको माछापुच्छ«े बैंक, गैह्रीधारा चोकको सनराइज बैंक, कृष्ण पाउरोटी चोकको प्राइम बैंक र त्रिपुरेश्वर चोकको त्रिपुरेश्वर रोटरी क्लबले जडानमा सहकार्य गरेका हुन् ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई ट्राफिक बत्तीको जडानसँगै उपत्यकाको सवारी व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रविधिमैत्री बत्तीको प्रयोगसँगै ट्राफिक जनशक्ति कम देखिदा ट्राफिकको काम समेत सहज हुनेछ”, ।
नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । २०३७ सालमा जाइकाको सहयोगमा उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । जाइकाले बत्ती जडान गरेको केही समय बत्ती बलेर ट्राफिकले केही सहजता पाए पनि पछि बत्ती बिग्रेसँगै ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला ट्राफिक बत्ती जडानसँगै चालकमा सडक अनुशासन कायम हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती अति आवश्यक छ”, ।
महाशाखाले केही समयपहिले गरेको अध्ययनमा काठमाडौं उपत्यकाभित्र हुने ट्राफिक जाम न्यूनीकरणका लागि १ सय ३९ चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्ने देखिन्छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौं उपत्यकामा १२ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । – रासस