काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन निवेदन दर्ता भएको छ । मंगलबार प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको नेतृत्वमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन दर्ता गराएका हुन् ।
संसद सचिवालयमा दर्ता भएको उक्त निवेदनमा माधव नेपाल पक्षका २३ जना प्रदेशसभा सदस्यमध्ये २० जनाले निवेदनमा हस्ताक्षर गरेका छन् भने ३ जना सदस्यहरुको निवेदन आज सचिवालयमा दर्ता हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।
सचिवालयका सचिव खड्काका अनुसार नेकपा माओवादी केन्द्रले भने अविश्वास प्रस्ताव फिर्ताबारे आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन । मंगलबार दर्ता भएको अविश्वास प्रस्ताव फिर्ताबारेको निवेदनमा पनि एमालेका प्रदेशसभा सदस्यहरुले मात्र हस्ताक्षर गरेको उनले जानकारी दिएका छन् ।
सचिवालयमा दर्ता भएको उक्त निवेदन कार्यव्यवस्था परामर्श समितिमा छलफलको लागि पठाइने र कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार थव प्रकृया अगाडी बढ्ने सचिव खड्काले बताएका छन् ।
गत पुस १० गते तत्कालिन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ ।
गत माघ महिनाको ९ गते संसदमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल भए लगतै स्थगित भएको प्रदेशसभा बैठक २ पटक बोलाइयो तर बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो । त्यस यता प्रदेशसभाको सातौँ अधिवेशन बैठक बस्न सकेको छैन ।
प्रदेशसभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेशकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । सर्वोच्च अदालतले फागुन २३ गते दिएको फैसलाले प्रदेशमा नेकपा एमालेको सरकार जोगाउनु पर्ने नैतिक दबाब बढेकाले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयमा पुगेको पूर्वमन्त्री नेपालले बताए बताएका छन् ।
उनले भने, ‘परिस्थिति पहिलेको जस्तो रहेन, वर्तमान परिस्थितिका कारण आफ्नै पार्टीको सरकार गिराउन हाम्रो नैतिकताले पनि दिएन त्यसैले हामी अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयमा पुगेका हौं ।’ सचिवालयमा दर्ता भएको निवेदनमा उल्लेख भए अनुसार प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसहित) को नियम ६७ को उपनियम(१) बमोजिम हामीले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिने सम्बन्धी सूचना यस सचिवालयमा दर्ता गर्दछौँ ।
नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक आज काठमाडौँमा बस्दैछ । बैठक काठमाडौंको च्यासलमा दिउसो १ बजे बस्ने बागमती प्रदेशसभा सदस्य जुनेली माया श्रेष्ठले बताएकी छिन् ।
बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र प्रदेशसभाको आगामी बैठक र योजना बारे छलफल हुने उनले बताइन् । बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराएका माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने बताइएको छ ।