कठमाडौं – प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदहरुलाई बिजनेस दिन नसकिरहेको सरकारले संसद बैठक स्थगन गर्ने तयारी थालेको छ । बैशाख महिनामा नै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले जारी बैठक तत्काल स्थगन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली तत्कालै संसद बैठक अन्त्य गर्ने पक्षमा हुनुहुन्छ,’ । यसबारे राष्ट्रपति र सभामुखसँग पनि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरिसक्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले ३ दिनअघि बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा पनि बर्खे अधिवेशन बैशाखमा नै सुरु गर्नुपर्ने भएकाले जारी संसद बैठक अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराउनु भएको थियो ।
गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चले फागुन ११ गते प्रतिनिधिसभा पुनस्थापना गरिदिएको थियो । अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशन दिएपछि तोकिएकै मितिमा बैठक सुरु भए पनि संसदले सरकारबाट बिजनेस पाउन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै सडकमा उत्रेका विपक्षीहरुले पनि यसवीचमा संसदमा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकेका थिएनन् ।
यसैवीच माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन केही दिनभित्रै फिर्ता लिने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।
त्यसैगरी, फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको दर्ता खारेज गरिदिएको विरुद्धमा पुनरावलोकनका लागि आज माओवादी केन्द्रले पुनरावलोकनका लागि आवेदन दिने स्रोतले जानकारी गराएको छ ।