काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसदसमेत सहभागी हुने भएका छन् । यसअघिको दलको बैठकमा उनीहरु सहभागी थिएनन् ।
माधव पक्षका सांसद सुरेन्द्र पाण्डेले आज बस्ने उक्त बैठकमा आफ्नो पक्षका सांसदहरु पनि सहभागी हुने जानकारी दिनुभएको हो । पाण्डेले भन्नुभयो ‘आजको दलको बैठकमा हामी जान्छौ । अस्तिको बैठकमा भेला भएकाले जान सकेनौँ,’।
आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिनुभएको छ । उहाँका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन् ।