काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेता युवराज ज्ञवालीले जानकारी दिनुभएको छ । ‘हाम्रो पक्षका नेताहरु जो काठमाडौंमा उपलव्ध हुनुहुन्छ, उहाँहरूसँग छलफल गर्नको लागि बैठक बोलाइएको हो’, ज्ञवालीले भन्नुभयो, ‘धेरै सदस्यहरु त जिल्लामा हुनुहुन्छ, उपत्यकामा हुने जतिलाई खवर गरिएको छ ।’
नेता ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जानकारी दिनुभएको छ । ज्ञवालीको भनाइ छ, ‘पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ । पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा हो’ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी थिएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गतेपछि एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्यको मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै माधव–झलनाथ पक्षले समानान्तर गतिविधि गर्दै आएको छ ।
राष्ट्रिय कार्यकर्ता भेला, जनवर्गीय संगठनहरुको बैठक लगायतका गतिविधि गरेको उक्त पक्षले अब चाँडै नै जिल्ला जिल्लामा पनि समानान्तर संगठन निर्माणको तयारी गरिरहेको छ । उता, बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले नै वरिष्ठ नेता नेपालसहित ४ जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्न गरेको निर्णयअनुसार नेताहरुलाई सोमबार पत्र पठाएर स्पष्टीकरण सोधिएको छ । उक्त स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरु रहेका छन् ।