काठमाडौं – एमालेको माधव नेपाल पक्षले समयसीमाभित्रै स्पष्टीकरणको जवाफ दिने लागेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ । नेपाल पक्षका एक नेताको भनाइ अनुसार स्पष्टीकरणको जवाफसहित केपी शर्मा ओलीलाई प्रश्न सोधेर जवाफ दिने तयारी समेत भइरहेको बताएका छन् ।
‘स्पष्टीकरणको जवाफ तयार भइरहेको छ, समयभित्रै जवाफसहित अध्यक्ष ओलीलाई पनि प्रश्न गरिनेछ’, माधव नेपाल निकट ती नेताको भनाइ रहेकोे छ । एमाले महासचिव ईश्वर पोखरेलले गत सोमबार बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र थमाउनु भएको थियो ।
स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासनको उल्लंघन गरेकाले कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्रमा नै स्पष्टीकरण बुझाउन भनिएको थियो । गत चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो बैठकमा माधव पक्षका नेताहरु भने सहभागी भएका थिएनन् ।
तर, नेता भीम रावलले भने अध्यक्ष केपी शर्मा ओलीले नक्कली कमिटी गठन गरेर सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने प्रतिक्रिया दिनुभयो । रावलले भन्नुभयो, ‘मनपरी ढंगले केन्द्रीय कमिटीमा मानिसहरु थपघट गर्ने, विधानका धाराहरु कुल्चँदै बैठक बसेर निर्णय गरेँ भन्ने कुरा अवैध र स्वेच्छाचारी छ’ । ‘त्यस्तो नक्कली कमिटीको के अर्थ रहन्छ ?’
फागुन २३ गते सर्वोच्चले नेकपालाई मान्यता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि अध्यक्ष केपी शर्मा ओलीले विधानविपरीत एकपक्षीय निर्णय गरेको भन्दै माधव पक्षले असन्तुष्टि जनाएको छ ।