काठमाडौं – तीन दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकारको गठन गर्न चाहान्छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनको लागि कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । संवैधानिक र कानुनी हिसाबले अझै पनि प्रधानमन्त्रीसँग संसदमा स्पष्ट बहुमत रहेको छ । तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन भनिरहेका छन् । तर त्यसको प्रत्युत्तरमा प्रम ओली निकट नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिइरहेका छन् ।
तीन दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाली कांग्रेस एक अर्काको ‘मुभ’ र निर्णय कुरेर बसेका छन् । तीन दलले न अविश्वासको प्रस्ताव ल्याउन नै सकेका छन्, न माओवादीले सरकारलाई दिएको समर्थन नै फिर्ता लिएको छ । प्रमुख प्रतिपक्ष र सरकारको स्वभाविक दावेदारको हिसाबले नेपाली कांग्रेसले पहल लिनुपर्ने माओवादी र जसपाका नेताहरुको भनाइ रहेको छ । कांग्रेसभित्रै पनि पार्टीले नयाँ सरकार निर्माणमा पहल लिनुपर्ने आवाज प्रवल छ ।
जसपाका नेता राजकिशोर यादवले भन्नुभयो ,’अहिलेको समस्या भनेको नयाँ सरकार गठनका लागि कसले पहिला पहल गर्ने भन्ने नै हो, सबै दल एक अर्काको निर्णय कुरेर बसिरहेका छन् ।’ उहाँको भनाइ अनुसार सरकार गठन गर्ने हो भने अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी अगाडि बढाउने हो त्यसको एउटा स्पष्ट खाकासहित नेपाली कांग्रेस अगाडि आउनुपर्छ ।
जसपाका नेताहरुका अनुसार नयाँ सरकार गठनका सम्बन्धमा पार्टीभित्र विवाद भए पनि ठोस निर्णय गर्न सक्ने अवस्थामा पार्टी छैन । उनीहरुका अनुसार पार्टीभित्रको विवाद आफ्नो ठाउँमा छ तर कांग्रेस र माओवादीको अनिर्णयले पनि सरकार गठन प्रक्रिया अगाडि बढ्न नसकेको हो । जसपाका अर्का एक नेताले भन्नुभयो, ‘हामीले प्रमुख विपक्षी नेपाली कांग्रेसलाई सरकार गठन गरिदिनुप¥यो भनेर बिन्ती हाल्ने होइन्, अनि सरकार गठनका सम्बन्धमा हतारमा निर्णय गरेर हामी फस्ने पक्षमा छैनौं ।’
ती नेताले कांग्रेस अग्रसर नभएको र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसमेत फिर्ता नलिएको खण्डमा जसपाको सरकारको सम्बन्धमा ठोस निर्णय नै गर्न नसक्ने समेत जानकारी दिनुभयो । कांग्रेस र माओवादी केन्द्रले आफूहरुलाई सरकारको नेतृत्व लिन औपचारिकरुपमा आग्रह गरेको अवस्थामा पहल गर्न तयार रहेको जसपाका नेताहरुको भनाइ रहेको छ ।
माओवादी र कांग्रेसले आग्रह गरेको खण्डमा पार्टीका सरकारको नेतृत्व लिन पनि तयार हुनुपर्ने आवाज जसपामा छ । नेपाली कांग्रेसले भने सरकार गठनका लागि परिस्थिति परिपक्व नभएको भनी सरकार गठनमा कुनै पनि पहल गरेको छैन । मंगलबार विराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गदै कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस आफैले अविश्वासको प्रस्ताव नल्याउने बताउनुभएको थियो । कांग्रेसले जसपाभित्रको विवाद र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको विषयलाई लिएर ठोस परिस्थिति निर्माण नभएको बताएको छ ।
आइतबार बसेको सो पार्टीको पदाधिकारी बैठकमा पनि नयाँ सरकार गठनका लागि तत्काल पहल नलिने विषयमा नेताहरुको बीचमा समझदारी बनेको थियो । उता माओवादी भने जसपाको निर्णय कुरेर बसिरहेको छ । नयाँ सरकारको विकल्प तयार भएपछि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने मुडमा पार्टीका नेताहरु छन् ।
माओवादी नेता हरिबोल गजुरेलले जसपाको कारण सरकार निर्माण प्रक्रिया अड्किएको बताउनुभयो । उहाँले भन्नुभयो,’हामी पार्टीभित्र यस विषयमा छलफल गरिरहेका छौ ।’ यसरी तीन दल एक अर्काको निर्णय कुरेर बसेका छन् । नेताहरुका अनुसार कुनै निर्णय हतारमा लिँदा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै निरन्तरता पाउने सम्भावना रहेकाले पनि अविश्वासको प्रस्तावका सम्बन्धमा निर्णय लिन कठिन भएको हो ।