काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीसँगको लडाईमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिनुभएको छ । उहाँले आफू पार्टीमा विकर्सित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्ताहरुलाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह समेत गर्नु भएको छ ।
आज आफू निकट अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुनैपनि काममा सफलता पाउन इमान्दारीता र समपर्णभाव आवश्यक रहेको भन्दै आफू त्यसको पक्षमा रहेपनि अध्यक्ष केपी शर्मा ओली त्यसविपरीत हिँडेको र कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनको दिशामा लागिरहेको समेत उहाँले बताउनु भएको छ ।
‘ अध्यक्ष केपी ओलीको भ्रमबाट मुक्त हुनुपर्छ । उनी कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लाँदैछन् । तर हामी पार्टी फुटाउँदैनौ, मैदान पनि छोड्दैनौ । पार्टी फुटाउने केपी शर्मा ओली नै हुन’, ।
उहाँले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई पढ्नु हुदैन भनेर सिकाउने गरेको पनि बताउनु भएको छ । उहाँले आफ्नो पक्ष र केपी ओलीबीच खराव र असल छुट्याउन आग्रह समेत गर्नुभयो ।
उहाँले ओलीले खराव कुरामात्र सिकाउने गरेको भन्दै आफूहरुले असल कुरा सिकाउने गरेको समेत बताउनुभयो । ‘कमजोरी हटाउन नसक्नेले राम्रो कुरा ग्रहण गर्न सक्दैन । हामी र केपी ओलीबीच फरक यही नै छ । केपी ओलीले विद्यार्थीले पढ्नु हुँदैन । हामी पढ्नुपर्छ भनेर सिकाउँछौँ । मिहिनेतका साथ अध्ययन गर्नेलाई हौसला पनि प्रदान गर्छौ’, नेता नेपालले भन्नुभयो, ‘ फरक भनेकै यही हो ।’
नेता नेपालले नेपालको राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र राजादेखि गिरिजाप्रसाद कोइरालासँग समेत आफूले राजनीतिक सहमति गरेको फेहरिस्त सुनाउनै बाँकी रहेको समेत जानकारी गराउनुभएको छ । उहाँले बाधा पन्छाउँदै नदी अघि बढे जसरी आफू अघि बढ्ने भन्दै आफू पछिल्लो अवस्थाबाट कुनै हालतमा विचलित नभएको बताउनुभयो ।
प्रधानमन्त्री केपी ओलीले राजावादीसँग साँठगाँठ गर्ने गरेको आरोप लगाउँदै नेपालले राजतन्त्र कुनै हालतमा फर्कन नदिने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले राष्ट्रिय राजनीतिको नाडी समाउन नसक्ने पार्टीहरू इतिहासमा सीमित हुने भन्दै कतिपय देशमा कम्युनिस्ट पार्टीहरु पनि अवशान भएको समेत बताउनु भएको छ ।