काठमाडौं – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ््ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हँुदै गएको छ ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको सङ्ख्या नै अत्यधिक रहेको छ । कोषको तथ्याङ्कअनुसार बन्दाबन्दी खुलेपछि १ लाख ४१ हजार ५ सय ७९ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् ।
यसैगरी, ५ हजार ७ सय ४८ भारतीय र १ सय २० विदेशी नागरिकले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरुको सङ्ख्या बढिरहेको बताउनुभयो । कोरोना भाइरसका कारण मान्छेहरुमा सृजना भएको निराशा र चिन्ता हटाउन लुम्बिनीको भ्रमण फलदायी हुने पनि शाक्यले बताउनुभयो ।
सामान्य अवस्थामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या अत्यधिक रहने गरेकामा कोरोना भाइरसका कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमानाकामा सहज आवतजावतसमेत नरहेको हँुदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउन नसकेको पर्यटन पुनरोत्थान समिति लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनीको पर्यटन पुनरोत्थानका लागि हामीले नेपाल पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार र पर्यटन सम्बद्ध विभिन्न निकायसँग मिलेर विभिन्न अभियान चलाइरहेका छौँ ।
यसले लुम्बिनी घुम्न जान मान्छेहरुलाई उत्प्रेरित गर्नेछ ।” गत फागुन तेस्रो हप्ता लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङसमेत गरिएको थियो । साथै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीको नेतृत्वमा पर्यटन क्षेत्रका विज्ञहरुको समूहले मायादेवी प्रसूति मार्गको स्थलगत अवलोकनसमेत गरेको थियो । – रासस