काठमाडौं – मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल, बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।
भेटवार्तापछि उहाँहरु राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गर्नुभएको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी हुनुभयो । बंगलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उहाँहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान प्रदान भएको थियो ।
बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बंगलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो । सो अघि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।