काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आरोप लगाउनु भएको छ । ५६ औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसर आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले दुई धार छ ।
एउटा यो संविधानलाई कसरी च्यात्ने होला भन्ने छन्, माओवादी आन्दोलनले पैदा गरेको समावेशी समानुपातिक मान्यतालाई के गरी निस्तेज होला भनेर हिजो देशभित्र र देश बाहिरका गणतन्त्र विरोधी सामन्तवादका दलालहरु, यो संविधान स्वीकार गर्न नसकेकाहरु मिलेर एउटा समूह बनेको छ । उनीहरुले यो संविधानलाई निस्तेज पार्ने मान्छे खोज्दै जाँदा प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।’
संविधान र गणतन्त्र सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली भएको अध्यक्ष दाहालले आरोप समेत लगाउनु भएको छ । ओली विदेशीको अगाडि सजिलै लम्पसार गर्न सक्ने पनि प्रचण्डले दावी गर्नु भएको छ । ‘२० औं २५ औं वर्षदेखि विदेशीले हुर्काएको र पालित पोषित को हो भनेर हेर्दै जाँदा सबैले विचार गर्नु होला । ओली नै देखिए भन्नुभयो र अहिले ओलीलाई त्यो धारको प्रतिनिधिको रुपमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न साथ दिएका छन् । कति दिन साथ दिन्छन् थाहा छैन ।’

ओलीलाई विदेशीले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न हुर्काएको समेत उहाँको भनाइ छ । ‘केपीले जालझेल, षड्यन्त्र र पार्टीभित्रै विधि पद्धतिको निर्मम हत्या गर्न थालेपछि विद्रोहको झण्डा कसले उठायो ? विद्रोहको झण्डा पनि त मैले उठाएँ । अब मलाई साथ दिने कि नदिने ? केपी ओलीले ठग्ने काम मात्रै गरेपछि मैले १९ पृष्ठ लामो दस्तावेज ल्याएको हो ।’ उहाँले प्रधानमन्त्री केपी शर्मा ओली माथि आक्रोश पोख्दै भन्नुभयो । संविधानलाई मार्ने, क्रियाशील हुन नदिने, कार्यान्वयन हुन नदिने कसरत भएको पनि प्रचण्डले बताउनु भएको छ ।