काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश जानुहुने भएको छ । उहाँ यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।
निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बंगलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौं बंगलादेश उडान अनुमानित १ घण्टा १० मिनेटको हुनेछ ।
राष्ट्रपति भण्डारी चैत १० गते बंगलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौं फर्कने उडान तालिका छ । चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एण्ड स्याम्पल टेष्टिङ’ उडान हुने दिन सोमबार बिहान ६ः३० बजे सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले राष्ट्रपतिको राजकीय भ्रमणमा राष्ट्रिय ध्वजावाहकको प्रयोग भएकामा निगम गौरवान्वित भएको बताउनुभयो । यसअघि पनि राष्ट्र प्रमुख तथा सरकार प्रमुखले राजकीय भ्रमणका सन्दर्भमा निगमको जहाज प्रयोग गर्दै आउनुभएको छ ।