काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएका छन् । जोशीका परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिएका छन् ।
‘सरकारले अनर ग¥यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन्, ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस् र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना रहेको छ ।’
स्वकीय सचिव पाण्डेले नेता जोशीको स्वास्थ्य अवस्था जटिलनै रहेको समेत जानकारी दिएका छन् । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था जटिल नै छ । डाक्टरले निको हुन्छ, हामी प्रयास गरिरहेका छौं भनेका छन् । उनीहरुले हामीलाई ‘क्लियरफिकेसन’ दिएका छैनन् । विरामीको अवस्थाले गर्दा हामीले पनि बाहिर लैजाने स्थिति बनिसकेको छैन ।’
नेता जोशीलाई उपचारका लागि मुलुक बाहिर लैजाने तयारी पूरा गरिएको भए पनि अस्पतालले बाहिर लैजाने अनुमति नदिएका कारणले गर्दा सम्भव नभएको समेत उनले बताएका छन् । फागुन १३ गते राति मष्तिष्कघात भएपछि नेता नविन्द्रराज जोशी नर्भिक अस्पतालमा उपचाररत छन् ।