काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनु भएको छ । आज चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा(एमाले) र (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै उहाँले सरकार गठनका निम्ति प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले न्युनतम नैतिकता समेत नदेखाएको उहाँको भनाइ रहेको छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उहाँले बताउनु भएको हो ।
सिंहले भन्नुभयो, ‘खाली सरकार परिवर्तनको कुरा गरेर मात्रै हुँदैन । हामी के चाहान्छौँ त भन्दा न्युनतम रुपमा राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता भन्ने कुरा लागु हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ । कम्युनिष्टहरुको सरकारले ५ वर्षसम्म दिएको म्याण्डेड पूरा गर्न सकेको छैन । र अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडि बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाइ रहेको छ ।’
नेता सिंहले कम्युनिष्ट पार्टीले जनताले ५ वर्षका लागि दिएको म्याण्डेड पूरा गर्न नसकेको समेत बताउनु भएको छ । देशलाई अस्थिरता बाट बचाउनको लागि सबै दलहरुले निकास दिनुपर्ने उनको भनाइ रहेको छ ।