काठमाडौं – माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले ओलीले गरेको संसद विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन् ।
उनले ३ वर्ष सरकार तथा पार्टी सञ्चालनका क्रममा प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नैतिकता गुमाएको समेत बताएकी छिन् । उनले हाम्रो जस्तो देशमा ३–३ बर्षमा चुनाव हुन सक्छ भन्ने प्रश्न गर्दै उनले देशमा १८ लाख युवा बेरोजगार रहेको भन्दै उनीहरुलाई खान लाउन दिनुपर्दैन भन्दै प्रश्न पनि गरेकी थिइन ।
उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको उल्लेख गर्दै कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध मित्रराष्ट्रले सित्तैमा दिएको खोप पनि ल्याउन नसकेको भन्दै आलोचना समेत गरेकी छिन् ।
उनले सरकारले संसदको कार्यव्यवस्था समितिमा कुनै पनि एजेण्डा नदिने र ‘संसद चल्न सकेन, प्रभावकारी भएन भन्दै उल्टो बाटोमा गएर सभामुखलाई गाली गर्न पाइन्छ ?’ भन्दै प्रश्न गरिन् । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक असंवैधानिक रहेकोले त्यसको विरोध गरेको तर एसिड आक्रमण विरुद्धको विधेयकमाथि कुनै पार्टीले पनि बिरोध नगरेको समेत स्पष्ट पारिन् । उनले विचाराधीन विधेयकहरुलाई अघि बढाउन आग्रह गरेकी छिन् ।
उनले लोकतन्त्रलाई बलियो बनाउन, देशलाई अग्रगमनतिर लैजान नयाँ सरकार बनोस् भन्ने कामना गरेकी छिन् ।