काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गर्नु भएको छ । बिहीबार ११ बजे बालुवाटारमा बैठक बोलाइएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ । ‘उक्त बैठकमा आउनको लागि सबै सांसदलाई एसएमएस मार्फत निम्तो गरिएको छ’, मुख्य सचेतक भट्टराईले भन्नुभयोे, ‘बाँकी निर्णय बैठकले नै गर्छ ।’
ओलीले गत फागुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ र माधव पक्षले आजदेखि राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ । उक्त भेलालाई ओली पक्षले गुटको भेला भनेको छ । तर नेपाल खनाल पक्षले उक्त भेलालाई पार्टीको आधिकारिक भेला भनेर दावी समेत गरेको छ ।
ओली पक्षले खनाल नेपाल पक्षले बोलाएको भेलामा नजान निर्देशन गर्दै यदि उक्त भेलामा गए कारवाही गर्ने चेतावनी समेत दिएको थियो । यसैबीच खनाल नेपाल पक्षका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने सम्भावना कम रहेको बताएका छन् ।