काठमाडौं — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताउनु भएको छ । आफूपक्षीय नेताहरुको भेलामा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले केपी शर्मा ओलीको अहङ्कार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या आएको समेत बताउनुभएको छ ।
ओलीकै कारणले गर्दा एमाले र माओवादी केन्द्रबीचको एकता समेत भाँडिएको नेता नेपालले जानकारी दिनुभएको छ । ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन’ उहाँँले भन्नुभयो ।
केपी शर्मा ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको भन्दै नेता नेपालले भन्नुभयो ‘जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई नै थोपर्नुभयो ।’
ओली सधैं पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उहाँले एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप समेत लगाउनु भएको छ । ‘उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउनको लागि संविधानको अपब्याख्या गर्नुभयो, पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गर्नुभयो’ नेता नेपालले भन्नुभयो ।