काठमाडौं — नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको उक्त भेला भोलिसम्म चल्ने छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएका छन् ।
ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाही गर्नेको चेतावनी दिएता पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता भएको छ । बैठकको अध्यक्ष नेता खनालले गर्नुभएको छ । उक्त भेलामा १० वटा समूह बनाइएको छ । यसैगरी कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।