काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय बैठक बिहीबारका लागि आह्वान गरिएको छ । सो बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको पार्टी स्रोतले जानकारी दिएको छ ।
सिंहदरबारस्थित रहेको जसपा संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलको नेता चयनको एजेण्डा रहेको छ । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले अझैसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन । आज बस्ने बैठकले नेता चयनको तयारी गरेको छ ।
पार्टी स्रोतका भनाई अनुसार अहिलेसम्म संसदीय दलको बैठकको अध्यक्षता गर्दै आएका पार्टीका अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्नेगरी तयारी अगाडि बढेको छ । यद्यपि दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।
अहिलेसम्म उनीहरुले खुलेर पार्टी बैठकमा आफ्नो दावेदारी प्रस्तुत नगरेको स्रोतले जानकारी दिएको छ । जसपाको ३४ सांसद मध्ये बहुमत सांसद ठाकुरको पक्षमा रहेको दावी गरिनुले पनि उनको सम्भावना बलियो रहेको नेताहरुले बताएका छन् ।