काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने १ जना व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका –११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।
विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा निज पक्राउ परेका हुन् ।
प्रहरीले छापा मार्दा २ सय लिटरसहितको १५ वटा ड्रम, २० मोबिलसहितको ३ ड्रम, १० लिटर मोबिलसहितका २ वटा बाल्टिन, १ लिटर मोबिलसहितको १४ वटा बट्टा, २ सय लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १ सय थान, सर्वो स्टिकर छाप्ने फर्मा २१ वटा, लिटर मापन गर्ने सामग्री ५ लिटर नाप्ने एक थान, १ लिटर नाप्ने एक, खाली एक लिटरवाला सर्वोको स्टिकर लगाएको १ सय स्टिकर लगाएको १ लिटरको खाली बोतल २ सय थान, एशियन पेन्ट्स लेखिएको इनामेल ५ सय लिटरको ७ बट्टा, १ लिटरवाला २ थान, सिल्भरको खाली बाल्टिन दुई थान र प्लाष्टिको बाल्टिन ३३ थान बरामद गरेको छ ।