काठमाडौं – नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल अगाडि बढाएको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले जानकारी दिएका छन् ।
महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले नेताहरुबीच चैत १ गते बैठक बोलाउँदा उपयुक्त हुने सुझावहरु आएपनि अध्यक्ष र महासचिवबीच छलफल गरेर समय र मितिको टुङ्गो लगाउने तयारी भएको जानकारी दिएका छन् ।
त्यसका लागि छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले आज ११ बजे महासचिव ईश्वर पोखरेल लगायतका आफु पक्षीय नेताहरुलाई बालुुवाटार बोलाउनुभएको छ । उपमहासचिव विष्णु पौडेलले शुक्रबार शीर्ष नेताबीच छलफल भएपछि बैठकको टुङ्गो लाग्ने बताउनु भएको छ । उपमहासचिव पौडेलले भने । ‘आज छलफल हुँदैछ । त्यसपछि थाहा होला’, ।
गत २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएसँगै विकसित राजनीतिक घट्नाक्रमहरुका बारेमा छलफल गर्न एमालेको माधव नेपाल पक्षले अविलम्ब बैठकको माग गरेपनि अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थियो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् । एमाले ब्युँतिएपछि पनि केपी शर्मा ओली र नेपाल पक्षका नेताहरुबीच संवाद हुन सकेको छैन । नेपाल पक्षले आफूहरुसँग कुनै छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको बताएका छन् ।