काठमाडौं – पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा ७ वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख गरिएको छ ।
संसद सचिवालयका अनुसार सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु आजको बैठकमा पनि पेस हुने छन् । सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका कारण संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुको रहेको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराई सकेका छन् । विरोधको सूचना दर्ता गराएकी नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले प्रक्रियाअनुसार विरोध जनाउने बताएकी छिन् ।
यसअघि फागुन २३ गते बसेको संसद बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश पेस गर्दा कांग्रेस र समाजवादी दलका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि सभामुख अग्नि सापकोटाले फागुन २६ गते सम्मका लागि उक्त बैठक स्थगित गरेका थिए ।
संसद सचिवालयले अघिल्लो दिन नै सार्वजनिक गरेको कार्यसूचीमा लेखिएअनुसार गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश पेस गर्नेछन् र गृहमन्त्री थापाले नै सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश पेस गर्ने छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश २०७७ पेस गर्ने कार्यसूची रहेकको छ । कानुन मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।