काठमाडौं — मेलम्ची खोलाको पानी काठमाडौंमा आइपुगेपछि यतिबेला काठमाडौं उपत्यकावासी खुसी भएका छन् । दुई दशक लामो प्रतीक्षापछि पानी काठमाडौँ आइपुग्दा वर्षौंदेखि अभावको अवस्था झेल्दै आएका उपत्यकावासीले हर्षको अनुभुति गरेका हुन् । निर्माण सम्पन्न हुन अझै बाँकी रहेको मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुगेपछि उपत्यकाबासीको वर्षौँको निराशा आशामा बदलिएको छ ।

सरकारले अन्तरकालिन व्यवस्थाबाट आएको पानी चैत दोस्रो सातादेखि उपत्कावासीलाई वितरण गर्ने उल्लेख गरिसकेको छ । हेडवक्र्स निर्माण सकिएपछि भने उपत्यकाबासीलाई नियमित रुपमा पानी वितरण हुने मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशककको भनाई छ । योसँगै वैशाखदेखि धारामा दैनिक २ देखि ३ घण्टा पानी आउने अवस्था रहेको उनको भनाइ छ ।

खानेपानी वितरणसम्बन्धी सरकारी निकायहरु मेलम्चीको खानेपानी आपूर्तिका लागि सक्रिय भइरहँदा उपत्यकामा पानी आपूर्ति गर्ने ट्याङ्कर व्यवसायी र मजदुर भने यतिबेला संकटमा छन् । मेलम्चीको पानी वितरण हुन थालेपछि बजारबाट पानीको माग ह्वात्तै घट्ने भन्दै व्यवसायी र मजदुरहरुले यसको विकल्प खोज्न थालेका हुन् । मेलम्चीको पानी आउनेबित्तिकै ७० प्रतिशत व्यवसायी र मजदूरको रोजीरोटी गुम्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।