काठमाडौं —नेकपा एमालेले पार्टी कार्यालय धुम्बाराहीमा आज पार्टीको नाम र साइनबोर्ड राख्ने भएको छ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो ।

हिजो सोमबारबाटै देशभरका पार्टी कार्यालयहरुमा ‘नेकपा एमाले’ लेखिएका साइनबोर्ड राख्ने क्रम सुरु भएको छ । सोहीक्रममा धुम्बाराहीमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न लागिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएपछि धुम्बाराही र पेरिसडाँडाका कार्यालयहरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बोर्ड राखिएको थियो । यद्यपि धुम्बाराहीको कार्यालय ओली पक्षले र पेरिसडाँडाको कार्यालय प्रचण्ड पक्षले प्रयोग गर्दै आएका थिए ।