काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाउनुभएको छ ।
उक्त नीतिअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको स्मरण समेत गर्नुभएको छ । ‘सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज सो दिवस मनाइँदैछ ।
“लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरुप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व उल्लेखनीयरुपमा वृद्धि भएको छ ।” सन्देशमा भनिएको छ, । “शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सूचकमा पनि सकारात्मक सुधार भएका छन् । नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ ।”
उहाँले अज्ञानता र कुरीतिको आड लिएर भएका खराब अभ्यासका कारण बोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेकाले अपराधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मकरुपमा जनचेतना जगाउनु आवश्यक भएकामा जोड दिनुभयो । विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न सरकारले शून्य सहनशीलताको नीति लिई अपराधीलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसमेतको कानूनी व्यवस्था गर्दै नैतिक शिक्षा र सचेतनाका कार्यक्रम निरन्तर गरिरहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद् बाट निर्णय गरी ‘महिला हिंसा असभ्यता हो, यो अपराध हो; महिला हिंसालाई रोकौँ’ भन्ने प्रतिबद्धतासहितको स्टिकर बनाई सार्वजनिकस्थल तथा क्षेत्रमा प्रचारप्रसार गर्न सबै सरकारका निकायलाई निर्देशन गरिएको पनि प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।