काठमाडौं – आज ४ बजे पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्दैछ । सबैको ध्यान आज प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि दिँदैनन् वा उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन्छ कि हुँदैन भन्नेमा छ । तर, नेपाल कम्युनिस्ट पार्टीको दुवै समूह, नेपाली कांग्रेस र तेस्रो दल जनता समाजवादी पार्टी एकअर्काको रणनीतिलाई नजिकबाट नियाल्ने र त्यही अनुरुपको कदम चाल्ने तयारीमा रहेका छन् ।
सम्भावित सबै कदमहरुको बारेमा तयारी थाल्ने र आवश्यक पर्दा जुनसुकै बेला जे पनि निर्णय लिने तयारीमा दलहरु जुटेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु अझै पनि प्रधानमन्त्रीले राजीनामा दिए सहज हुने बताएका छन् । संसदको बैठक शुरु भएपछि पनि प्रधानमन्त्रीले राजीनामा नदिएमा मात्र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव तयारी अगाडि बढाउने सो समूहको तयारी रहेको छ । ओली पक्ष भने राजीनामा नदिने र अविश्वास प्रस्ताव आए सामना गर्ने तयारीमा छ ।
नेकपा प्रचण्ड–नेपाल समूहका नेता देवेन्द्र पौडेलले अविश्वास प्रस्तावबारे पनि कुराकानी भइरहेको तर अझै टुंगो नलागेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने हो तर त्यसो हुन नसकेमा संयुक्त रुपमा अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि कुराकानी भइरहेको छ । अहिले केही टुंगो लागेको छैन ।’
विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि पर्ख र हेरको नीतिमा छन् । नेकपा औपचारिक रुपमा विभाजित नभएसम्म कुनै पनि खालको कदम नचाल्ने उनीहरुको तयारी छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘यस विषयमा हामी छलफलमै छौं ।’
उता प्रधानमन्त्री ओली र उनको समूहले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँछ कि आउँदैन नजिकबाट नियालिरहेको छ । अविश्वासको प्रस्ताव नआएमा केही समय पर्खने नीतिमा ओली छन् । प्रधानमन्त्रीको राजीनामा र अविश्वासको प्रस्तावको सम्बन्धमा आज केही प्रक्रिया अगाडि नबढी संसद बैठक स्थगित हुने सम्भावना पनि छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अविश्वास प्रस्तावको विषय उल्लेख गरीएको छैन ।
राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, सरकारले ल्याएका अध्यादेशहरु प्रस्तुत गर्ने लगायतका कार्यसूचिमा प्रवेश गरेर आजको बैठक सकिन सक्छ । संसद सचिवालयका एक कर्मचारीले भने, ‘आजको संसद बैठक सामान्य अवस्थामा नै सन्चालन हुन्छ । यद्यपि दलहरु कसरी प्रस्तुत हुन्छन्, त्यसअनुसार सभामुखले प्रक्रिया अगाडि बढाउनु हुन्छ । त्योबाहेकका अरु हल्ला सत्य होइनन् ।’