काठमाडौं – सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी २०७७ चैत २ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग बिहीबार राजदूतावासमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् ।
बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा ३ बेलायती नागरिक रहेको सो टोली ७९ दिन नेपालमा रहनेछ । टोली विशेष विमानबाट नेपाल आउने छ । सगरमाथा आरोहरणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट टे«कस प्रालिमार्फत भइहेको दूतावासले जानकारी दिएको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।