काठमाडौं – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।
सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो । प्रतिनिधिसभाको पुनः स्थानापछि भने कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा सो बारेमा समेत सांसदको राय लिइने बताइएको छ ।
सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः स्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको छ । — रासस