काठमाडौं – गत पुस २४ गते नेपाल एयरलाइन्सको जहाज ‘हेभी ल्यान्डिङ’ गराउँदा दुईवटा ल्यान्डिङ गियरमा गम्भीर समस्या आएको जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमलाई पत्र पठाएको छ । पत्रमा जहाजका मुख्य दुईवटा ल्यान्डिङ गियरमा समस्या देखिएकाले त्यसलाई तत्कालै मर्मत गर्न वा नयाँ परिवर्तन गर्नको लागि आग्रह समेत गरिएको छ  । ल्यान्डिङ गेयर जहाजको पांग्रादेखि इन्जिनसम्मको भाग हो । गत २६ फेब्रुअरीमा निगमलाई एयरबस कम्पनीले पत्र लेख्दै मर्मत वा प्रतिस्थापन गर्नुको विकल्प नभएको जानकारी दिएको थियो । पत्रमा भनिएको छ– ‘हेभी ल्यान्डिङ’ भएपछि पटक–पटक उडान–अवतरण हुँदा जहाजको पछाडिका दुईवटा ल्यान्डिङ गियर प्रतिस्थापन गर्नुपर्ने देखिन्छ ।’
निगम उच्च स्रोतले दिएको जानकारीअनुसार एयरबसको ल्यान्डिङ गेयरमा रहेका सयौँ पार्टस्हरू हल्लिएका र प्रतिस्थापन गर्नुपर्ने निगम व्यवस्थापनलाई इमेलमार्फत जानकारी गराएको छ । सो इमेलमा एयरबसले केही दिनमै प्रतिस्थापन गर्नुपर्ने पार्टस्हरूको सूची पठाउने जानकारी गराएको छ ।
जनवरी ८ मै जहाजलाई ग्राउन्डेड गरेर परीक्षण गरिएको भए कम खर्चमै मर्मत गर्न सकिन्थ्यो । तर, उडान सुरक्षा शाखा र अपरेसन विभागले डेढ महिनासम्म हेभी ल्यान्डिङको विषयलाई लुकाएर ६० वटा उडान गर्दा ल्यान्डिङ गियरमा गम्भीर समस्या देखिएको हो । एयरबसको पत्र आएपछि निगम व्यवस्थापनले जहाजलाई मर्मत गर्न सिंगापुरसम्म पु¥याउने योजना बनाएको थियो । तर, एयरबसका इन्जिनियरले उडान गर्न अनुमति नदिएपछि भारतबाट भाडामा प्रतिघन्टा १ लाख डलर खर्चेर ल्यान्डिङ गियर ल्याउने तयारी गरिएको छ । नयाँ किन्नुपरेमा निगमको डेढ अर्ब खर्च हुन्छ ।
अब निगमको अन्तर्राष्ट्रिय उडानमा एउटा वाइडबडी जहाज ग्राउन्डेड भएको छ । अर्को न्यारोबडी जहाज इन्जिन परीक्षण (सी–चेक)का लागि सिंगापुर पठाइएको छ । जसका कारण २ वटा जहाज मात्रै नियमित उडानमा रहेका छन् । ल्यान्डिङ गियर परिवर्तन गर्न कम्तीमा १५ दिन लाग्ने देखिएको छ । यसले निगमले करोडौँ आम्दानी गुम्ने निश्चित रहेको देखिएको छ । नयाँ जहाज खरिदपश्चात् किस्ता तिर्नसमेत नसकेको निगम व्यवस्थापनको आफ्नै लापरबाहीले थप आर्थिक भार पर्ने भएको छ ।
ग्राउन्डेड भएको वाइडबडी जहाजको विषयमा निगमले आन्तरिक छानबिन समिति बनाएकाले अब प्रतिवेदनपछि मात्रै मर्मतको विषयमा भन्न सकिने नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन । ‘जहाजमा कस्तो–कस्तो समस्या आएको भन्ने विषयमा अध्ययन भइरहेकाले अहिले नै केही भन्न सकिँदैन,’ प्रवक्ता श्रेष्ठले भनिन् ।
निगमको एन ९–एएलजेड कल साइन भएको एयरबस–३ सय ३० मकालु जहाज गत ८ जनवरीमा दोहा–काठमाडौं अवतरणका क्रममा हेभी ल्यान्डिङ गरिएको थियो । सो जहाज क्याप्टेन महेश्वरमान डंगोल र को–पाइलट सुनील श्रेष्ठले उडान भरेका थिए । हेभी ल्यान्डिङपछि जहाजलाई परीक्षणमा पठाउनुपर्नेमा डेढ महिनासम्म नियमित उडान गरिएको थियो । त्यस अवधिमा जहाजले सयौँ यात्रुको ज्यान जोखिममा राखेर ६० उडान गरेको थियो । २१ फेब्रुअरीमा जहाज निर्माता कम्पनी एयरबसले जहाजमा समस्या आएको जानकारी निगमको उडान सुरक्षा शाखामा गराएपछि मात्रै जहाज र पाइलटलाई ग्राउन्डेड गरिएको थियो । साथै, निगम व्यवस्थापनले डेढ महिनापछि आन्तरिक छानबिन समितिसमेत गठन गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका अपरेसन विभाग प्रमुख दीपुराज जुहार्चन र उडान सुरक्षा शाखा प्रमुख राज रौनियारलाई सफाई दिएको छ । प्राधिकरणले गठन गरेको छानबिन समितिले दुवैजनासँग स्पष्टीकरण लिएपछि हेभी ल्यान्डिङ प्रकरणमा उनीहरू दोषी नदेखिएको भन्दै सफाइ दिएको हो । स्पष्टीकरण दिएपछि मात्रै उडान गर्न वा काठमाडौंबाहिर जान दुवैजनालाई प्राधिकरणको छानबिन समितिले निर्देशन दिएको थियो । सोहीअनुसार दुवैजनाले स्पष्टीकरण दिएपछि बिहीबारबाटै उनीहरूलाई सफाइ दिइएको हो ।
यसैबीच, निगमका अपरेसन विभाग प्रमुख दीपुराज जुहार्चन र सुरक्षा शाखा प्रमुख राजकुमार रौनियारले आफूहरूलाई कारबाही नभएको जनाएका छन् । उनीहरूलाई उडानमा रोक लगाउने निर्णय भएको भन्ने समाचारमा सत्यता नभएको उनीहरूको भनाई रहेको छ । हेभी ल्यान्डिङ भएको फ्लाइटका क्याप्टेन एमएम डंगोल र सुनील श्रेष्ठलाई भने प्राधिकरणले उडान संलग्न नगराउन निर्देशन दिएको छ ।