काठमाडौं – केही अपराधिक घटनाहरु परिवार र आफन्तबाट नै धेरै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै÷छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले सो जानकारी दिएको हो ।
प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले नागरिकका गुनासो सुन्ने र शान्तिसुरक्षा कायम गर्न ‘थप के कुरा गर्नुपर्छ’ भनेर कार्याक्रम आयोजना गरिएको समेत जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “हामीले आयोजना गरेको कार्यक्रममा उपस्थित व्यक्तिले नै परिवार र आफन्तबाटै जोगिन गाह्रो भएको बताउँदै आएका छन् । ”
जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन १८ गते मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका– ५ का राजबहादुर चन्दले आफ्ना ३ महिने छोराको हत्या गर्नुका साथै बुबाआमा, श्रीमती र भाइलाई कुटपिट गरेको घटना भएको थियो ।
यसका साथै गत माघ महिनाको अन्तिम सातातिर जिल्लाको पुर्चौडी नगरपालिकामा बुबाले आफ्नी छोरीलाई गोली हानी हत्या गरेको घटना र गत माघ २१ गते दोगडाकेदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा भाई नातापर्ने दिनेश भट्टको सङ्लग्नताको आरोप लागेको छ ।
ती केही आपराधिक घटना परिवार र आफन्तबाटै भएको बताइएको छ । प्रनाउ अधिकारीले भन्नुभयो, “घरपरिवारबाटै हिंसा र आपराधिक घटना हुन थालेपछि प्रहरीलाई सुरक्षा चुनौती झन बढेको छ । ” बैतडीमा भएका आपराधिक घटना हुनुमा मदिरा सेवन मुख्य कारण रहेको देखिएको छ । नागरिक सुनुवाई कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मदिरा सेवन गरेकै कारण हिंसा र आपराधिक घटना बढी हुनेगरेका छन् । उहाँले भन्नुभयो, “ नब्बेप्रतिशत आपराधिक घटना मदिरा सेवनका कारण हुने देखिएका छन”
दैनिक उपभोग्य तथा खाद्यान्न पाइने पसलमासमेत मदिरा बिक्री हुने गरेको स्थानीयवासीले गुनासो गरेका थिए । मदिरा बिक्रीवितरण तथा सेवन रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने प्रहरीको जोड छ ।
चेतनाको कमीका कारणले गर्दा पनि आपराधिक घटना बढिरहेका प्रहरीले जानकारी दिएको छ । चेतना अभावको कमीले पनि आपराधिक घटना हुने गरेको प्रहरी बताएको छ । अन्य सहभागीले युवापीढिका लागि मनोपरामर्श जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने, टोलटोलमा हुने गरेका जुवातास र अवैध मदिरा बिक्री वितरण तथा सेवनलाई न्यूनीकरण गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
जिल्लाका सबै स्थानीय तहमा प्रहरी नागरिक सुनुवाई गर्ने कार्यक्रम पनि रहेको छ । हालसम्म पाटन र मेलौली नगरपालिकामा सम्पन्न भइसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहमा पनि केही दिनमै निरन्तर रुपमा कार्यक्रम सञ्चालन गरिने प्रहरीले जानकारी दिएको छ ।
–––