काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन्, भन्ने चाहिँ हामीलाई थाहा छैन ।”
फरक प्रसङ्गमा उहाँले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट समेत गर्नुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।” सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उहाँले स्पष्ट पार्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा महतको भनाई रहेको थियो ।