काठमाडौं – पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले बताउनु भएको छ । उहाँका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहने छ ।
हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ, भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम ० दशमलव १ डिग्री सेल्सियस रहेको छ ।