प्रदेश नं – १ को प्रदेशसभाको बस्ने भनिएको बैठक विशेष कारणले मिति परिवर्तन गरिएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक २०७७ साल फागुन २० गते दिउँसो १ः०० बजे बस्ने घोषणा गरिएको थियो ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अब अर्को बैठक आगामी चैत २ गते दिउँसो १२ः३० बस्ने सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश गरिएको थियो ।
सो बैठकमा प्रदेशसभाका सभामुख भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोलाई नेपालको संविधानका धारा १ सय ८८ (४४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १ सय २९(१) बमोजिम दर्ता भएको प्रदेश मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियम १ सय २९(४) बमोजिम पेश गर्ने अनुमति दिनुभएको थियो ।