काठमाडौं – नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिताको आयोजना गर्ने भएको छ । १ सय ११ औं नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
देवघाट –५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता हुने भएको छ । उक्त दौड १ सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिएका छन् । गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ ।
त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमानले श्रीमती बोक्ने प्रतियोगिताको आयोजना गरेको थियो ।
गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविरसमेत आयोजना गर्दैछ ।