काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभएको छ । नेता खनालका अनुसार केन्द्रीय समिति बैठक अघि सचिवालय र स्थायी समिति बैठक पनि बस्दैछ । सचिवालय १० बजे र स्थायी समिति बैठक ११ बजे बस्न लागेको हो ।
राजनीतिक घटनाक्रमका बारेमा रणनीति बनाउन बैठक बोलाएको सो पार्टीका नेताहरुले जानकारी दिएका छन् । केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गरेसँगै आगामी समीकरण कसरी र संसदमा कसरी फेस गर्ने भन्ने विषयमा छलफल हुने सो पार्टीका नेता बेदुराम भुषालले बताउनु भएको छ ।
नेता भुषालका अनुसार केन्द्रीय समितिका एजेण्डा सचिवालय, स्थायी समितिले तय गर्ने छ । प्रतिनिधि सभाको बैठक आगामी २३ गते बस्दैछ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविस्वास प्रस्ताव लैजाने प्रचण्ड–नेपाल पक्षको तयारी रहेको छ । सरकारको निर्णयलाई सर्वोच्चले उल्टाए पनि प्रधानमन्त्री ओली पदबाट राजीनामा गर्न अनिच्छुक देखिएपछि राजनीतिक परिस्थिति थप जटिलतातर्फ जाने हो कि भन्ने आशंका गर्न थालिएको छ ।