काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा लागेको आगलागीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने बताउनु भएको छ ।
दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेको प्रहरीले बताएको छ । आज बिहान मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्छ र जनताको समस्या तत्काल समाधान गर्छ ।’ उहाँले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन समेत दिनुभएको छ ।
अहिले आगो नियन्त्रणमा आइसकेको र सुरक्षाकर्मीले उद्धारको काम गरिरहेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मलाई अत्यन्त दुःख लागेको छ, । हाम्रा बस्तीहरु जल्नु ज्यादै दुःखको कुरा हो,’ ‘हाम्रा सुरक्षाकर्मीहरु त्यहाँ पुगिसकेका छन् । उद्धार गर्ने कामहरु गरिसकेका छन् ।’